Sep 21, 2010

ब्ल्याकमेलिङ : साइबर अपराध अब अदालतमा

मुलुकमा साइबर अपराधसम्बन्धी कानुन निर्माण भएपछि उक्त कानुनलाई टेकेर न्यायालयसमक्ष पुगेको वीरगन्जको एउटा मुद्दा अहिले चर्चाको बिषय बनेको छ । साइबर अपराधका आरोपी एक युवक भदौ २३ गते पर्सा जिल्ला अदालतमा १ लाख ३० हजार रुपैयाँ धरौटी राखेर सामान्य तारेखमा छुटेका छन् । मुलुककै नौलो खालको तथा सम्भवतः पहिलो यो मुद्दाका आरोपी वीरगन्ज उपमहानगरपालिका-२, छपकैंयाका शैफ भनिने जहाँगिर आलम पर्सा जिल्ला न्यायाधीश विष्णुप्रसाद कोइरालाको आदेशमा धरौटी लिई तारेखमा रिहा भएका हुन् ।

२७ वषर्ीय जहाँगिरविरुद्ध वीरगन्जकै एक युवती रमा -नाम परिवर्तन) ले असार २ गते जिल्ला प्रहरी कार्यालय पर्सामा साइबर अपराध मुद्दाको किटानी जाहेरी दर्ता गरेकी थिइन् । ती युवतीले आफ्नो सेक्स टेपलाई जहाँगिरले इन्टरनेटका विभिन्न साइटमा राखेको तथा त्यसको सिडीसमेत बनाई बजारमा सार्वजनिक गरेको आरोप लगाएकी छिन् । गत जेठ २३ गते युट्युबलगायत विभिन्न अश्लील पोर्नसाइटमा ती युवतीसमेत सरिक सेक्सक्लिप राखिएको थियो ।

चरणबद्ध रूपमा दुई थरीका क्लिप इन्टरनेट साइटमा राखिएका थिए । तेस्रो क्लिप भने सिडीका रूपमा बजारमा आएको थियो । आगोझैं फैलिएको वीरगन्जसँग सम्बन्धित उक्त सेक्स टेप प्रकरण पछि जहाँगिर फरार भएका थिए । उनी एकैपटक अदालतमा उपस्थित भएका हुन् ।

युवतीले विवाहपूर्व आफ्नो प्रेमसम्बन्ध जहाँगिरसँग रहेको र त्यसै क्रममा उनीसँग राखिएको शारीरिक सम्बन्धको तस्बिर मोबाइलको क्यामेराबाट छायांकन गरी इन्टरनेट वेबसाइट तथा सिडीमार्फत सावर् जनिक गरिएको दाबी गरेकी छिन् । उक्त मुभीलाई जहाँगिरले एमएमएस तथा सिडी बनाई सार्वजनिक रूपमा बिक्री-वितरणसमेत गरेर आफूलाई हदैसम्मको ब्ल्याकमेलिङ गर्ने काम गरेको रमाले बताएकी छिन् । युवतीको माइती तथा घर दुवै पक्षका व्यक्तिहरूको नामै उल्लेख गरेर उक्त सेक्स प्रकरण सार्वजनिक भएपछि उनको माइती र घर दुवै पक्षले सामाजिक रूपमा ठूलो अपहेलना भोग्नुपर्‍यो । भारतमा उनको घर पक्ष आफू बस्दै आएको सहरबाट बसाइँ सरिसकेको छ ।

जहाँगिरले आफूसँग पटक-पटक शारीरिक सम्पर्क राख्न धम्की र दबाब दिएको तर आफूले नमान्दा उक्त मुभीको सिडी आफ्ना श्रीमान्को घर तथा माइतीमा पठाई आफ्नो बेइज्जती गरेको दाबी जाहेरीमा गरिएको छ । उक्त सेक्स टेप प्रकरणपछि आफ्ना बुबा पक्षघात भै हिडडुल गर्न नसकी अपाहिज भैसकेको तथा बहिनीहरू घरबाट बाहिर निस्कन नसकेको उनले आफ्नो जाहेरीमा उल्लेख गरेकी छिन् । हाल श्रीमान्ले आफूलाई बहिष्कार गरी माइतीमा छाडी गएको अवस्थामा समेत जहाँगिरले आफूलाई पटक-पटक धम्की दिइरहेको उनले आरोप लगाएकी छिन् । रमाले जहाँगिरसँग आफ्नो मित्रता एवं प्रेमसम्बन्ध एक कम्प्युटर इन्स्िटच्युटमा कम्प्युटर सिक्ने क्रममा भएको बताएकी छिन् । जहाँगिरले त्यस क्रममा आफूलाई नशालु पदार्थ ख्वाएर शारीरिक सम्पर्क राखेको तथा त्यसको तस्बिर खिचेको दाबी गरेकी छिन् । उक्त मुभी वीरगन्जकै छपकैयातिर खिचिएको हुन सक्ने उनको अनुमान छ ।

अविवाहित जहाँगिरले अदालतमा बयानका क्रममा आफूले हालसम्म रमासँग भेटघाट नगरेको र उनीसँग आफ्नो कुनै पनि खालको मित्रता तथा सम्बन्ध नरहेको बताएका छन् । रमाले जाहेरीमा आफूउपर लगाएका आरोप पूर्ण रूपले झूटो र निराधार भएको उनको जिकिर छ । जहाँगिरले आफूले कक्षा ८ सम्म मात्र पढेको र रमासँग कुनै सम्बन्ध र सरोकार नभएकाले उनी संलग्न सिडी तथा सेक्स क्लिप आफूले सार्वजनिक नगरेको जिकिर गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा उक्त मुद्दा प्रस्तुत गर्दै जहाँगिरले विद्युतिय -इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७-१) अनुसारको कसुर अपराध गरेकाले उनलाई हदैसम्मको सजायको माग गरेको छ । सरकारी वकिलको कार्यालयको अभियोगपत्रमा जहाँगिरले सामाजिक जातीय सद्भाव बिगार्ने, कसैप्रति घृणा वा द्वेष फैल्याउने वा विभिन्न जातजाति तथा साम्प्रदायिक सुमधुर सम्बन्ध खलल पार्ने कार्य गरेकाले उनलाई सजायको माग गरेको छ ।

न्यायाधीश कोइरालाको इजलासले थुनछेक प्रयोजनको बहसपछिको आदेशमा 'आरोपित जहाँगिर कसुरदार देखिए पनि निजलाई अदालती बन्दोबस्त ११८-२) अनुसार थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पछि प्रमाण बुझ्दै जादा ठहरेबमोजिम हुने गरी निज प्रतिवादीबाट अदालती बन्दोबस्तको ११८-५) समेतको आधारमा धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने' भनी उल्लेख छ ।

रमाका कानुन व्यवसायी अधिवक्ता सुधीर कर्णले अधिराज्यमै सम्भवतः कुनै पनि न्यायिक निकायमा दर्ता गरिएको सबैभन्दा पहिलो यस्तो खालको मुद्दामा आफूले चाहेर पनि बहस पैरवी गर्न नपाएको बताए । आफू कामविशेषले हेटौंडामा रहेको र रमालाई समेत उक्त मुद्दाको पेसी बुधबार परेको कुराको जानकारी नहुँदा अत्यन्त कम समयमा अदालती कारबाही सम्पन्न भएको उनले बताए । उनले सूचना र प्रविधिको वर्तमान युगमा यस्ता खाले मुद्दामा इजलासमै भिडियो, कम्प्युटर आदि राखेर न्याय निरूपण गर्न सकिने अवस्था विद्यमान हुँदाहँुदै पनि त्यसो नगरिएको गुनासो गरे । उनले प्रहरीले यो मुद्दामा गम्भीर रूपमा अनुसन्धान गर्न सक्ने अवस्था हुँदाहँुदै पनि त्यसो नभएको बताए । आरोपी एक्लैले उक्त टेप बनाउने, एडिटिङ गर्ने र वेबसाइटमा हाल्नेसम्मको काम गर्न नसक्ने अवस्था रहेको र उक्त कार्यमा कम्तीमा तीन-चार जनाको समूह लागिपरेको निश्चित हुँदाहँुदै पनि जहाँगिर एक्लैलाई अभियुक्त बनाउनु प्रहरी अनुसन्धानमा रहेको कमजोरीको प्रमाण भएको उनको आरोप छ । प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठ भने यो मुद्दा हालसम्मकै अत्यन्त नौलो र जटिलसमेत भएकाले प्रहरीले अत्यन्त गम्भीरतापूर्वक लिएको जिकिर गर्छन् । उनले व्यापक अनुसन्धानपछि मात्र प्रहरीले सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेको बताए ।

यता जिल्ला सरकारी वकिलको कायर्ालय जहाँगिरलाई धरौटीमा छाडने जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गर्ने तयारीमा जुटेको कार्यालय स्रोतले बताएको छ । विवाहअघिको प्रेमसम्बन्ध र त्यस क्रममा भएका गतिविधिका कारण अनपेक्षित नतिजा बेहोरेकी रमा हाल बिस्तारै उक्त घटनाजनित सामाजिक अपहेलना, लाञ्छनाबाट आफूलाई सम्हाल्ने क्रममा छिन् । घरबाट बहिष्कृत भैसकेकी उनले अकल्पनीय घटना बेहोरेको र आफ्ना कारण माइती पक्ष पनि ठूलो पीडाको सिकार भएकाले आफू अत्यन्त दुःखित भएको बताएकी छिन् । यद्यपि रमाले पहाडजस्तो लामो जीवनलाई त्यत्तिकै घरमा बसेर खेर नफाल्ने मनस्थिति बनाएकी छिन् । विवाहका कारण आफ्नो उच्च शिक्षा अवरुद्ध भएकाले अब उच्च शिक्षालाई निरन्तरता दिने र स्वावलम्बी बन्न चाहेको उनी बताउँछिन्, तर यो कुरा समाजले सकारात्मक सहयोग र समर्थन गरिदिए मात्र सम्भव भएको कुरा उनलाई थाहा छ । कुनै सहृदयी संघसंस्थाले आफूलाई पुनर्जीवन दिने पहल गरे आफू त्यसका लागि तयार रहेको पनि उनको भनाइ छ । टेप प्रकरणको पात्र आफू एक्लै नभई आफूलाई बदनाम गर्ने युवक पनि उत्तिकै जिम्मेवार भएकाले पितृसत्तात्मक समाजले आफूलाई मात्र दोषी बनाइरहेको उनको गुनासो छ । समाजमा यस्ता क्रियाकलाप गर्ने पुरुष पनि उत्तिकै दोषी हुनुपर्ने र उसको सामाजिक बहिष्कार गर्न सक्नुपर्ने उनको भनाइ छ ।

यसअघि एक गायक तथा हास्यकलाकारको यस्तै खाले टेप सार्वजनिक हुँदा हालको ऐन बनिनसकेकाले उनलाई गाली बेइज्जती ऐनअनुसार कारबाही चलाइएको अधिवक्ता कर्ण बताउँछन् । त्यसैगरी चर्चित दुई मोडल तथा नायिका यस्तै खालका दुई फरक प्रकरणमा चर्चामा आए पनि उनीहरूले कुनै कानुनी उपचार खोजेनन् ।

वीरगन्जका लागि पनि यस्तो घटना पहिलो भने होइन । यसअघि पनि वीरगन्ज स्थानीय घर भएका एक अन्र्तराष्ट्रिय खेलाडीको भिडियो क्लिप्स सार्वजनिक भएको थियो । स्थानीय एक महिलासँगको उनको उक्त टेपले पनि आगाको झिल्कासरह चर्चा बटुलेको थियो । आधुनिकतासँगै बढ्दो साइबर अपराध यहाँका युवा पुस्ता र उनीहरूका अभिभावकका लागि पनि चिन्ताको विषय बन्दै गएको छ । फलस्वरूप साइबर अपराधसम्बन्धी कानुनलाई अझ बढी प्रभावकारी र बलियो बनाउनुपर्ने धारणा अधिकांश अभिभावकको छ ।
सभार :http://www.ekantipur.com/saptahik/article/?id=2402

No comments:

Post a Comment